हिजबुल्लाह-इजरायलबीच मिसाइल हानाहान : नेपाली सेना सुरक्षित, खतरा भने कायमै  

संयुक्त राष्ट्र संघीय शान्ति मिसन अन्तर्गत लेबनानमा रहेका नेपाली शान्तिसैनिक तैनाथ इलाका हालसम्म सुरक्षित अवस्थामा रहे पनि खतरा कायमै छ ।

Sep 24, 2024 - 11:17
 0
हिजबुल्लाह-इजरायलबीच मिसाइल हानाहान : नेपाली सेना सुरक्षित, खतरा भने कायमै  

काठमाडौं । लेबनानको हिजबुल्लाह समूह र इजरायबीच एकअर्काविरुद्ध मिसाइल हानाहान भइरहेको छ । यसले अवस्था तनावपूर्ण बनाएको छ । तर, अहिलेसम्म नेपाली सेना भने सुरक्षित छन् ।

संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनअन्तर्गत लेबनानमा रहेका नेपाली शान्ति सैनिक तैनाथ इलाका हालसम्म सुरक्षित अवस्थामा रहे पनि खतरा कायमै रहेको जनाइएको छ ।

लेबनानको दक्षिणी भागमा सोमबार इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ३ सय ५६ जना मारिए । नेपाली सेनाको गण हेडक्वार्टरभने लेबनानको दक्षिण-पश्चिम भाग मेइसेज जाबलमा युनिफिल मिसनअन्तर्गत तैनाथ छ ।

गणअन्तर्गत अरू ६ स्थानमा नेपाली शान्ति सैनिकका युनिट छन् । लेबनानमा राष्ट्रसङ्घीय शान्ति स्थापनार्थ ‘युनाइटेट नेसन्स इन्टेरिम फोर्स इन लेबनान’ (युनिफिल) मिसनअन्तर्गत विभिन्न देशका ९ हजार ५ सय ३२ जनाको फौज तैनाथ रहेकोमा नेपाली सेनाबाट मात्रै करिब ८ सय ५० जना सैनिक कार्यरत छन् ।

सोमबारको आक्रमणमा १२ सयभन्दा बढी घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजबुल्लाह र इजरायबीच रकेट, ड्रोन, मिसाइललगायतबाट एकअर्काविरुद्ध आक्रमण भइरहने क्रममा हिजो इजरायलले लेबनानविरुद्ध ठूलो कारबाही गरेको थियो ।

इजरायलको आक्रमणबाट घाइतेको उद्धारमा अहिले नेपाली शान्ति सेनाहरूसमेत तैनाथ छन् । यद्यपि, नेपाली सेनाहरूको अवस्था सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए ।

हिजबुल्लाह र इजरायलबीच एकअर्काविरुद्ध आक्रमणका विवरणहरू बाहिर आएलगत्तै नेपाली मिसनसँग नियमित सम्पर्क भइरहेको उनले बताए ।

उनले नेपालभ्युजसँग भने, ‘हालसम्मको अवस्था हेर्दा गण हेडक्वार्टर तथा मातहत रहेका नेपाली सेनाहरू सुरक्षित छन् ।’

स्रोतका अनुसार इजरायली सेनाले लेबनानस्थित सशस्त्र समूह हेजबुल्लाहका अखडालाई लक्षित गरी आक्रमण गरेको छ । यसकारण नेपाली सेनाको गण हेडक्वार्टरलाई जोखिम छैन । तर आक्रमणमा मारिएका हेजबुल्लाह लडाकुको सङ्ख्या भने यकिन भएको छैन ।

महिला बालबालिका स्थानीय जनता मारिएका खबर आएकाले आक्रमण हुँदा जहाँ पनि हुनसक्ने बताइन्छ । यसकारण नेपाली सेना रहेको गण हेडक्वार्टरमा जोखिम भने कायमै रहेको बताइन्छ । अहिले पनि दुवैपक्षबीच ससाना मिसाइल हानाहान भइरहेको छ ।

इजरायलले गत असोज २० (अक्टोबर ७) मा हमासविरुद्ध युद्ध सुरु गरेको थियो । सोमबार त्यसयताकै भयानक आक्रमण इजरायलले गरेको हो ।

प्यालेस्टाइनी समूह हमासले गत वर्ष उत्तरी इजरायलमा गरेको आक्रमणमा कम्तीमा १२ सय जनाको ज्यान गएको थियो ।

त्यसका साथै हमासले २ सय ५० भन्दा बढीलाई बन्धक बनाएर लगेको थियो । त्यसयता इजरायलले गाजामा गरेको आक्रमणमा करिब ४२ हजार प्यालेस्टाइनीको ज्यान गइसकेको छ ।

इजरायलले हमासविरुद्धको आक्रमण तीव्र पारेसँगै हेजबुल्लाहले हमासलाई सहयोग गर्ने घोषणा गरेको थियो । जसका कारण इजरायलले हेजबुल्लाह लक्षित आक्रमण सुरु गरेको हो ।

लेबनानमा कार्यरत केही नेपाली श्रमिकले ‘इजरायल–लेबनानको सीमा क्षेत्रमा युद्ध भइरहेको बताउँछन् । आफूहरू आत्तिइहाल्नुपर्ने अवस्था नभएको भन्दै ढुक्क भएर आफ्नो नियमित काम गरिरहेको उनीहरूले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register