विपद्का बेला असंवेदनशील ओली, निरीह सिंह र असक्षम लेखक

प्रधानमन्त्रीको शैली डिभी परेर अमेरिका पुगेको कुनै नेपालीको पहिलो हप्ताको घुमफिरजस्तै थियो । कार्यवाहक प्रधानमन्त्री सिंह आफैँ हराएजस्तो, डराएजस्तो निरीह देखिए । गृहमन्त्री लेखकले यो अवसरलाई राम्रो उपयोग गर्न सक्थे । तर, उनले पनि कुनै क्षमता देखाउन सकेनन् र जनआक्रोशको तारोमा परे ।

Sep 30, 2024 - 09:17
 0
विपद्का बेला असंवेदनशील ओली, निरीह सिंह र असक्षम लेखक

काठमाडौं । देशमा प्राकृतिक आपत्‌विपद् तथा कुनै अनपेक्षित स्थिति आइलाग्दा राष्ट्र तथा सरकार प्रमुख विदेश भ्रमण छोट्याएर फर्किने प्रचलन आम र विश्वव्यापी हो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो प्रचलनलाई कुनै महत्त्व दिएनन् ।

यता तीनदिने भारी वर्षाले देश बर्बाद भइरह्यो । भीषण बाढी पहिरोले नागरिक आहत भए । उता अमेरिकामा प्रधानमन्त्री ओली निर्धारित कार्यक्रममै व्यस्त र मस्त देखिए ।

अमेरिकामा प्रधानमन्त्री ओलीका अधिकांश कार्यक्रम निकै कम महत्त्वका थिए । तिनलाई छोड्दा वा स्थगन गर्दा कुनै आकास खस्ने थिएन । तर, उनले छोड्न चाहेनन् । ‘रोम जल्दा बाँसुरी बजाइरहेका निरो’को कथाजस्तो यता देश बर्बाद हुँदा उता प्रधानमन्त्री ओली अमेरिका घुमेका दृश्य नागरिकलाई हेर्न सहज लागेन ।

जस्तो पत्रकार महासङ्घका पूर्वसभापति तारानाथ दाहालले एक्समा प्रतिक्रिया दिए, “देश अविरल वर्षाले क्षतविक्षत भइरहेको छ । दशैंको मुखमा नागरिक असह्य दु:खमा परेका छन् । प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका अमेरिकातिरका घुमघामका दृश्यहरू यतिबेला देख्न नपरे पनि हुन्थ्यो जस्तो लागेको छ । यस्तै बेला हो शासक र राज्यको आशा गर्ने ।”

नागरिकको यस्तो अपेक्षा बुझ्नबाट प्रधानमन्त्री ओली चुके । अमेरिकामा उनले कतिपय कार्यक्रममा अर्थ न बर्थका कुरा बोले, जसले देशको प्रतिष्ठा मात्र घटाएन, स्वयम् उनको व्यक्तित्वलाई गम्भीर क्षति पुर्‍यायो । त्यस्ता कार्यक्रममा प्रधानमन्त्रीले भाग लिनुभन्दा नलिनु देशका लागि राम्रो मानिने थियो ।

जस्तो कि कोलम्बिया विश्वविद्यालयको एक अन्तरक्रिया कार्यक्रममा उनले अधिकांश सहभागीले गरेका प्रश्न नबुझेर असान्दर्भिक तथा उल्टो उत्तर दिएका थिए ।

अमेरिकामा संयुक्त राष्ट्रसङ्घको ‘समिट अफ द फ्युचर’ को सम्बोधनबाहेक प्रधानमन्त्रीका कुनै पनि कार्यक्रम खास गम्भीर र महत्त्वपूर्ण हैनन् । ती औपचारिकतामा मात्र सीमित थिए ।

बाँकी कार्यक्रम परराष्ट्रमन्त्री आरजू राणा देउवालाई जिम्मा लगाएर प्रधानमन्त्री तत्काल फर्किँदा केही बिग्रने थिएन । तर, पनि देशमा झन्डै दुईसय नागरिकले ज्यान गुमाउनेगरी आएको विपद्लाई महत्त्व दिएर तत्काल देश फर्किन उनले चाहेनन् ।

अमेरिकामा डुलिरहेका प्रधानमन्त्री ओलीलाई व्यङ्ग्य  गर्दै कार्टुनिष्ट रवि मिश्रले लेखे, “प्रधानमन्त्री डिभी परेर अमेरिका जानुभएको हो र ?”

नभन्दै प्रधानमन्त्रीको शैली डिभी परेर अमेरिका पुगेको कुनै नेपालीको पहिलो हप्ताको घुमफिरजस्तै थियो । प्रधानमन्त्री ओलीको यस्तो व्यवहार बिल्कुलै असंवेदनशील प्रकृतिको थियो ।

कार्यवाहक प्रधानमन्त्री बनेका उपप्रधानमन्त्री प्रकाशमान सिंहका लागि आफ्नो सक्रियता, पहलकदमी, कार्यसम्पादन क्षमता तथा कार्यदक्षता देखाउने अवसर हुन सक्थ्यो । तर, उनी दृश्यमा कतै देखिएनन् वा जति देखिए कमजोर र निरीह देखिए । अनपेक्षित जिम्मेवारी आइलाग्दा हतास भएको मान्छेजस्तो देखिए ।

कम्तीमा सञ्चारमाध्यममा आएर क्षतिको नियमित विवरण दिने, नागरिकलाई आश्वस्त पार्न प्रयत्न गर्ने, राज्यको तर्फबाट भएका गल्तीका लागि क्षमा माग्ने, प्रारम्भिक उद्धार तथा राहत कार्यक्रम घोषणा गर्ने, अभरमा परेका पीडितका लागि अस्थायी आवास, खाद्यान्न र अन्य बन्दोवस्ती गर्ने काम उनले गर्न सक्थे । यस्ता तात्कालिक कार्यको घोषणा, नेतृत्व, संयोजन र समन्वय गर्न सक्थे । कम्तीमा पीडित नागरिकलाई ढाडस दिन सक्थे ।

तर, कार्यवाहक प्रधानमन्त्री सिंह आफैँ हराएजस्तो, डराएजस्तो निरीह देखिए । उनले राज्यको पदमा हुनुको औपचारिकता पूरा गर्न सर्वदलीय बैठकको आयोजना गर्नेबाहेक कुनै गतिलो पहलकदमी लिएनन् । सिंह नागरिक आक्रोशको तारो बने ।

सामाजिक सञ्जाल एक्समा एक नागरिक प्रभाषराज कार्यवाहक प्रधानमन्त्रीबारे यसरी आक्रोश पोख्छन्, “प्रकाशमान सिंह नाम मात्रै ठूलो, हेभिवेट भनाउँदो, गणेशमान सिंहको छोरा हुनुबाहेक यिनको पौरख, प्रतिभा, परिचय, प्रतिष्ठा केही पनि छैन । यत्रो वर्ष सांसद, मन्त्री, पार्टीको हेभिवेट नेता हुनुको उपलब्धि देश र जनताले केही पनि पाएन । राज्यको भार, ढुकुटीको काल ।”

लाग्छ— सिंहले नेतृत्व क्षमता पुष्टि गर्ने एक ठूलो अवसर गुमाए ।

दुईदिने झरीले निम्त्याएको अनपेक्षित बर्बादीको बेला नागरिक आलोचनाको केन्द्रमा देखिएका अर्का पात्र बने, गृहमन्त्री रमेश लेखक ।

मौसम पूर्वानुमान महाशाखाले यसपालीको झरीको सही पूर्वानुमान गरेको थियो । महाशाखाका पूर्वानुमानमा नागरिकले विगतमा बिरलै विश्वास गर्थे । तर, यसपटक भने राम्रैसँग मिल्यो । महाशाखाले अगाडि नै सतर्कताका लागि सार्वजनिक सूचना गरेको थियो ।

यसको पहिलो प्रभाव त गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखामा पर्नुपर्ने थियो । सरकारले नागरिकलाई उच्च सतर्कताको आह्वान गर्न सक्थ्यो । उद्धार तथा राहत संयन्त्रलाई ‘हाई एलर्ट’ मा राख्न सक्थ्यो । तर, मौसम पूर्वानुमान महाशाखाको सूचना स्वयम् गृह मन्त्रालय र सरकारी संयन्त्रहरूले नै पत्याएनन् । तिनले कुनै गतिलो तयारी पनि गरेनन् ।

गृहमन्त्री लेखक ‘चतुर’ र सार्वजनिक जीवनमा ‘भलाद्‌मी कुरा गर्ने’ नेता मानिन्छन् । तर, दुनियाँलाई यो कुरा पनि उत्ति नै थाहा छ कि उनी कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र हुन् । उनको सबैभन्दा ठूलो क्षमता नै सभापति देउवाको ‘किचेन क्याबिनेट’ को सदस्य र आशीर्वाद प्राप्त कार्यकर्ता हुनु हो ।

देशको राजनीतिक संस्कार र अभ्यासमा यो कुनै नौलो कुरा भएन । तिनै नेता, कार्यकर्ताले पद र अवसर पाउने हुन्, जो पार्टी नेतृत्वको नजिक र आशीर्वाद प्राप्त हुन्छन् । तर, देशलाई परेको बेला तिनले कस्तो काम गर्दछन्, त्यसको भिन्नै मूल्याङ्कन र विश्लेषण हुन्छ । यस्तो मूल्याङ्कनमा गृहमन्त्री रमेश लेखक खह्रो उत्रिन सकेनन् ।

प्रधानमन्त्रीको अनुपस्थिति, कामको राम्रो भेउ नपाउने निरीह कार्यवाहक प्रधानमन्त्री भएको बेला गृहमन्त्री लेखकले यो अवसरलाई क्षमता प्रमाणित गर्न राम्रो उपयोग गर्न सक्थे । गतिलो, भरोसायुक्त र क्षमतावान् नेतृत्वका रूपमा आफ्नो क्रियाशीलता सिद्ध गर्न सकेको भए सायद उनकै राजनीतिक करिअर र व्यक्तित्वका लागि उपयुक्त हुन्थ्यो ।

तर, गृहमन्त्री लेखक पनि जनआक्रोशको तारोमा परे । अवरुद्ध सडकहरूको कारण ठाउँ-ठाउँमा समस्यामा परेका यात्रुको उद्धार कार्यसमेत सरकारले राम्रोसँग अझै गर्न सकेको छैन । पीडित नागरिकको अस्थायी बसोबास, खानपिन र तत्कालिक राहत सहयोगतर्फ उनले पटिक्कै ध्यान दिएनन् ।

कतिपयले रिसको झोकमा गृहमन्त्रीको राजीनामा नै मागे । जस्तो राजनीतिक विश्लेषक तथा स्तम्भकार झलक सुवेदीले एक्समा लेखे, “गृहमन्त्री राजीनामा देऊ, तिमी सम्पूर्ण रूपमा असफल देखियौ ।”

संसदीय लोकतन्त्रमा नेपाली कांग्रेस-नेकपा (एमाले) जस्ता दुई ठूला दल मिलेर सरकार बनाउनु आफैँमा अस्वाभाविक थियो । तर, दुई ठूला दल नै मिलेपछि सरकार बलियो र प्रभावकारी हुन्छ भन्ने बुझाइले पनि काम गरेको छैन । सरकार बलियो भएको हो कि झन् कमजोर ? प्रश्न गर्नुपर्ने भएको छ ।

संसद्को अङ्कगणितले मात्र सरकारको बलियोपन पुष्टि हुन सक्दैन । सरकारको व्यावहारिक वैधताको आधार अन्ततः उसका क्रियाकलाप नै हो, कार्यसम्पादन क्षमता नै हो ।

सामान्य अवस्थामा त देश आफैँ पनि चलिरहेकै हुन्छ । देश र नागरिकलाई आपत्‌विपद् पर्दासमेत सरकारको उपस्थिति देखिँदैन वा असंवेदनशील, निरीह र असक्षम रूपमा देखा पर्दछ भने त्यस्तो सरकारलाई कसैले बलियो मान्दैन । कसैले आफ्नो मान्दैन । तीनदिने झरीले राज्यको असंवेदनशील चरित्र झनै छर्लङ्ग पारेको छ ।

देश आज इतिहासकै सर्वाधिक जटिल राजनीतिक तथा आर्थिक स्थितिबाट गुज्रिरहेको छ । ठूला पुराना दल र नेताप्रति जनविश्वास गुमेको छ । नयाँ भनिएका पनि एकपछि अर्को करिअरिष्ट, ठग र अवसरवादी निस्किएका छन् । जनताले आशा-भरोसा गर्न सक्ने कुनै राजनीतिक केन्द्र वा संस्थाको देशमा नितान्त अभाव छ ।

दशैं, तिहार, छठजस्ता ठूला चाडपर्व सन्निकट छन् । नागरिक खुसी हुनुपर्ने, रमाउनुपर्ने बेला झन् आहत भएका छन् ।

राजमार्गहरूको अवरोध सजिलै हट्लाजस्तो छैन । स्थितिको नाजायज फाइदा उठाउन हवाई सेवा कम्पनीले अस्वाभाविक भाडादर वृद्धि गरेर एउटा उदाहरण दिइसकेका छन् । बाढी पहिरोले घर तथा खेत गुमाएका परिवारको सम्पत्तिको क्षति र आर्थिक मारको भयावहता सजिलै कल्पना गर्न सकिन्छ ।

समस्याको दीर्घकालीन समाधानका उपायको खोजी र कार्यान्वयनको कुरा त परै छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register