मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक

जनकपुरधाम । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चन क्षेत्रमा अहिले चौरचन पर्व मनाइँदैछ । मिथिलाका ठूला पर्वमध्ये एक चौरचन पर्वमा चन्द्रमालाई पूजा गर्ने परम्परा रहेको छ । मिथिलामा सूर्यको मात्र होइन मानवसहित सम्पूर्ण जगत्‌लाई शीतलता दिने चन्द्रमाको पनि पूजा गर्ने चलन छ । यो पर्व भदौ महिनाको शुक्लपक्ष चौथी तिथिका दिन मनाइन्छ । मधेसी समूदायले यसलाई छठपछिको दोस्रो ठूलो […]

Sep 6, 2024 - 07:13
 0
मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक

जनकपुरधाम । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चन क्षेत्रमा अहिले चौरचन पर्व मनाइँदैछ ।

मिथिलाका ठूला पर्वमध्ये एक चौरचन पर्वमा चन्द्रमालाई पूजा गर्ने परम्परा रहेको छ । मिथिलामा सूर्यको मात्र होइन मानवसहित सम्पूर्ण जगत्‌लाई शीतलता दिने चन्द्रमाको पनि पूजा गर्ने चलन छ ।

यो पर्व भदौ महिनाको शुक्लपक्ष चौथी तिथिका दिन मनाइन्छ । मधेसी समूदायले यसलाई छठपछिको दोस्रो ठूलो पर्वको रूपमा मनाउने गर्दछन् ।

चौरचन पर्वका दिन व्रत बस्ने चलन छ । यस पर्वको माध्यमबाट मैथिल कला संस्कृतिको समेत उजागर हुने प्राज्ञ तथा वरिष्ठ पत्रकार रामभरोस कापडी बताउँछन् ।

“खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाइ, त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । सो क्रममा नयाँ माटोको भाँडोको दही, केरा, मिठाइ, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवीदेवतालाई चढाइने गरिन्छ ।” कापडीले भने ।

पूजामा विशेष परिकार बनाउने चलन रहेको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका गीतादेवी साह बताउँछिन् । प्रसादका रूपमा पिरकिया, खजुरी, खाजा, पुरी र खिर घरघरमा बनाउने चलन छ । फलफूलका अतिरिक्त दहीले पनि गणेश र चन्द्रमाको पूजा गरिन्छ ।

चौथीको दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यताअनुसार चौरचन पर्व मान्ने परिवारजनले हातमा केरा, स्याउ, अम्बा, अनार, काक्रा, घरमा तयार पारेको पकवान, मिठाइ, गाँजरजस्ता सामग्री लिएर दर्शन गर्ने परम्परा छ । दिनमा प्रसाद बनाउने र बेलुका पूजा गर्ने गरीन्छ ।

पण्डित इन्द्रकान्त झा शास्त्रीका अनुसार यो पर्वको प्रारम्भ मिथिला नरेश हेमाङग ठाकुरद्वारा भएको मानिन्छ । ठाकुर आफैँ ज्योतिष थिए । उनलाई यो तिथिमा शुभफल प्राप्त भएकाले यस पर्वको सुरुवात गरेको मान्यता रहेको छ ।

मैथिल समाजका धेरैजसो परिवारमा यो व्रत गर्ने भाकल गरिएको हुन्छ । परिवारमा कसैलाई कुनै कष्ट भएको बेला यो पर्व गर्ने भाकल गरेर कष्ट निवारणका लागि चन्द्रमालाई विन्ति गरिन्छ । यस्तो भाकल पाँच दश वर्षका लागि पनि गरिन्छ भने कतिपय अवस्थामा यो आजीवन हुने गर्दछ ।

जनकपुरधाम उपमहानगरपालिका-४ कि ज्योती देवी झा झण्डै एक दशकदेखि यो व्रत बस्दै आएकी छन् । चतुर्थीका दिन दिनभर उपवास बसी नैवेद्य लागि पकवान पकाइन्छ । साँझ भएपछि चन्द्रमाको विशेष विधिपूर्वक पूजा गरि यो पर्व सम्पन्न हुने झा बताउँछिन् ।

मिथिलाको लोकपर्व चौरचनको बेला गणेश र चन्द्रमाको कथा सुन्ने समेत परम्परा रहिआएको छ ।

चौरचन पर्वको महत्व

चौरचन पर्व मिथिला क्षेत्रको पारम्परिक लोकपद्धतिमा आधारित पर्व रहेको संस्कृतिविद डा. राजेन्द्र विमल बताउँछन् । उनले भने, “हामीकहाँ जति लोक परम्परा रहेको छ त्यसमा कुनै प्रकारको भेदभाव हुँदैन् । यसमा कुनै तामझाम हुँदैन् । यसमा प्रयोग हुने विभिन्न सामग्री जस्तै माटोको भाँडा, फलफुल, पिठोबाट बनेको परिकार, दही लगायतका सम्पूर्ण सामग्री आफ्नै घर आँगनबाट उत्पादन भएको प्रयोग हुन्छ ।”

क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका पण्डित लालबाबु झाका अनुसार मानिस जन्म लिएपछि उनीहरूले सूर्य र चन्द्रमालाई मात्र हेर्यो बाँकी सबै देवी देवतालाई शास्त्रीय विधि अनुसार प्रतिष्ठानमा राखेर पूजा गरिन्छ ।

चौरचन पर्वको आयोजना भाद्र शुक्ल चतुर्थी तिथिका दिन रातिमा मनाइन्छ । यो वास्तवमा चन्द्रमाको पूजा हो । भनिन्छ यो तिथिमा चन्द्रमालाई नाङ्गो आँखाले हेर्दा कलंक (अपयश) लाग्ने हुनाले पूजा गरि अर्थात खाद्यान्न, फलफूल, दही आदिको अर्घ्य दिएर चन्द्र–दर्शन गर्दा त्यो अपयशबाट बच्न सकिन्छ ।

पर्वको प्रारम्भ

मिथिलाञ्चल क्षेत्रमा मनाईने विभिन्न लोक पर्वहरूको प्रारम्भबारे प्रमाणिक त्यस्तोम केहि उपलब्ध छैन । जसरी यो समाजले आफ्नो आवश्यता, सहुलियत आदिकै आधारमा यसलाई ग्रहण गरे । त्यो कतै अभिलेख रूपमा पाइदैन । यो पीढि दर पीढि हस्तान्तरण हुँदै आए । तर, पनि केही अवधारणाहरू यस पर्वको प्रारम्भको पृष्ठभूमिमा छ, जसलाई यसरी प्रस्तुत गरिएको छ ।

मिथिलाञ्चल क्षेत्रमा डाक वचन अत्यन्त प्रमाणिक र लोक ज्योतिष शास्त्र कै ऋचा जस्तै स्वीकार गरिएका छन् । कृषि कर्मबारे उनका वचन अत्यन्त सटिक हुन्थ्यो । आज पनि मिलेको छ तर पर्यावरणीय अव्यवस्थाले गर्दा तलमाथि हुने गर्दछ ।

एउटा वचन आएको छ–‘‘काशी कुशी चौठी चान, आब की रोपबह धान किसान’’ अर्थात् चतुर्थी (शुक्ल चतुर्थी) को चन्द्रमा आकाशमा देखिसके पछि धानको रोपाइँ गर्नु हुँदैन, गर्ने बेला गई सकेको हुन्छ । यो बोल लगभग एक सय वर्ष पूर्व डाक द्धारा व्यक्त गरिएकोले यसको व्यवहार त्यस भन्दा अगाडी देखि नै समाजमा भएको अनुमान गर्न सकिन्छ ।

चौरचनको कथा

मिथिलाञ्चल क्षेत्रमा मनाउने चौरचनको विभिन्न प्रचलित कथा रहेको सुन्दर सदनका बाबा नबल किशोर बताउँछन् । बाबा नवल किशोरका अनुसार श्रीकृष्णलाई यसै दिन स्यमन्तक मणिको प्रसंगमा लागेको कलंक छुटेकोले यस पर्वको पौराणिक महत्व पनि स्थापित भएको छ ।

त्यसैगरी श्रीमदभागवतमा पनि एउटा कथा रहेको छ । द्वापरमा द्वारिकापुरीमा सत्रजीत नामको एउटा गरिब यादव भगवान सूर्यको अराधना गरी निकै उत्कृृष्ट मणि प्राप्त गरेका थिए ।

विधिपूर्वक पूजा गरेपछि उक्त मणिबाट प्रतिदिन २० मन सुन प्राप्त गर्थे रे यादवले । उनी छिट्टै धनाढ्य हुन पुगे । चारै तिर यो खबर फैलियो । एकदिन राजाको दरबारमा सत्रजीत मणि गलामा धारण गरेर नै पुगेछन् । मणिको प्रभावले चारैतिर प्रकाशित भएर दरबार नै चकमक्क भयो ।

श्रीकृष्णले यादवलाई मणि राजालाई दिन आग्रह गरे । तर, उनले मानेनन् र बहाना बनाई घर फर्कि हाले । घरमा गएपछि राजाले मणि लिने डरले भाइ प्रसेनजीतलाई मणि जिम्मा लगाई सुरक्षा साथ जंगल पठाए । कालक्रममा प्रसेनजीतको मृत्यु भएपछि उक्त मणि एउटा सिंहबाट जाम्बवन्त नाउँको बलशाली भालुले हात पारे । भालुको निवास एउटा विशाल गुफामा थियो ।

जब प्रसेनजीतको मृृत्यु र मणि हराएको खबर राजा कहाँ आयो तब उसको संदेह श्रीकृष्णमाथि नै गयो । आफूमाथि लागेको कलंक धुन श्रीकृष्ण जंगल गए र निकै खोजबिन गरे पछि त्यहाँ उपलब्ध साक्ष्यहरूको आधारमा आशंका गर्दै त्यस गुफा भित्र प्रवेश गरे । दशदिन भन्दा पनि बढी गुफाबाट श्रीकृष्ण बाहिर न आए पछि सँगै आएका सैनिकहरू निराश भई राजधानी फर्के । त्यहाँ श्रीकृष्णको लागि निकै शोकलहर चल्यो ।

समय बित्दै जाँदा अठाइसौँ दिन श्रीकृष्ण मणि र एक सुन्दर महिला साथ राजधानी फर्के । वास्तवमा जामवन्त भालुसँग लडाई गर्दै अन्तमा उनलाई हराएर मणिका साथ उनकी छोरी जाम्ववतीलाई लिएर उनी आएका थिए । त्यो दिन भाद्र शुक्ल चतुर्थी कै दिन थियो । श्रीकृष्णको कलंक मुक्तिको त्यो दिनलाई स्मरणार्थ चन्द्रपूजाको विधान रूपान्तरित भएको विश्वास छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register