दशैंमा ‘हेभीवेट’ फिल्मको रोचक भीडन्त : छक्का पञ्जा ५, ज्वाइँ साब र १२ गाउँ जुध्दा कसले मार्ला बाजी ?

ठूला फिल्म मेकरले बडादशैं या नयाँ वर्षको अवसर पारेर फिल्म रिलिज गर्न तछाडमछाड नै गर्छन् । तीनवटा फिल्मले फूलपातीलाई रिलिज मिति तोकेपछि बडादशैंमा फिल्मको प्रतिस्पर्धा रोचक हुने भएको छ ।

Sep 21, 2024 - 08:33
 0
दशैंमा ‘हेभीवेट’ फिल्मको रोचक भीडन्त : छक्का पञ्जा ५, ज्वाइँ साब र १२ गाउँ जुध्दा कसले मार्ला बाजी ?

काठमाडौं । यो दशैंमा ‘हेभिवेट’ मानिएका तीन फिल्म जुध्ने भएका छन् । अरू बेलामा प्रदर्शन गर्न हिचकिचाउने निर्माता यो दशैंमा एकैसाथ फिल्म रिलिज गर्ने तयारीमा छन् ।

यसपटकको फूलपाती (२४ असोज)मा तीन वटा नेपाली फिल्म जुध्ने पक्का भइसकेको छ । केही फिल्मले रिलिज डेट पछि सारेका छन् ।

अभिनेता विराज भट्टको निर्माण र उनका छोरा समीर भट्टले डेब्यू गरेको फिल्म ‘१२ गाउँ’, जितु नेपाल र नीति शाह अभिनीत फिल्म ‘ज्वाइँ साब’ र दीपकराज गिरी, दिपा श्री निरौलाको फिल्म ‘छक्का पञ्जा ५’ को रिलिज मिति तय भइसकेको छ ।

ठूला फिल्म मेकरले बडादशैं या नयाँ वर्षको अवसर पारेर फिल्म रिलिज गर्न तछाडमछाड नै गर्छन् । चर्चामा रहेका फिल्मले फूलपातीलाई रिलिज मिति तोकेपछि बडादशैंमा फिल्मको प्रतिस्पर्धा रोचक हुने भएको छ ।

यससँगै ‘आटल लः दफा २१९’ले दशैंमै फिल्म रिलिज गर्ने भने पनि मिति पछि सारेको छ । चर्चित अभिनेत्री स्वस्तिमा खड्का अभिनीत फिल्म ‘बेहुली फ्रम मेघौली’ पनि दशैंमै तर, घटस्थापनामा प्रदर्शनमा आउँदैछ ।

दशैं तिहारमा फिल्म रिलिज गर्नेको लर्को हुने गर्छ । खासमा दशैंमा धेरै बिदा हुने भएकाले पनि मेकरले त्यसको फाइदा उठाउन खोज्छन् । तर, त्यही बिदाको फाइदा लिन खोज्दा दशैंमा भएभरका फिल्मको बाढी आएको जानकार बताउँछन् ।

सुरुमा ‘घर ज्वाइँ’ टिमले फिल्मको रिलिज मिति घोषणा गर्दा कतिपयले चर्चा कमाउने आइडिया लगाएको टिप्पणी गरेका थिए ।

सोही मितिमा विराजको ‘१२ गाउँ’ पनि आउने तय भएको थियो । त्यो भीडमा दीपक र दिपाको फिल्म ‘छक्का पञ्जा ५’ पनि थियो । यो बीचमा केही फिल्म प्रदर्शनमा आउन नचाहेर ब्याक भएका छन् ।

निर्माताले एकपक्षीय ढङ्गले प्रदर्शन मितिमा अडान लिएपछि प्रदर्शक संस्था दबाबमा परेका छन् ।

प्रदर्शक र वितरकको छाता संस्था चलचित्र संघले एउटै मितिमा फिल्म रिलिज नगर्न आग्रह गरे पनि निर्माता पछि हटेनन् । वितरक र निर्मातालाई फिल्म नजुधाउन समेत आग्रह गरे पनि नमानेको संघका प्रवक्ता तथा महासचिव सुरेन्द्र थापाले बताए ।

उनले भने, ‘‘प्रदर्शनअघि धेरै चर्चा भइरहेका ठूला ब्यानरका फिल्म जुध्न लागेपछि हामीले छलफलमै राखेर फरक/फरक समयमा चलाउन भनेका थियौँ । दशैं तिहारकै समयमा असोज महिनाको रिलिज क्यालेन्डर लगायतका विविध समसामयिक विषयमा छलफल गराए पनि मान्नुभएन ।’’

कसले मार्ला बाजी ?

फूलपाती अर्थात् मध्य दशैंमा रिलिज मिति तय भएका तीन फिल्म मध्ये ‘छक्का पन्जा’का गीत बढि चर्चामा छन् । ‘बिहे भएको छैन, कुमारी नि हैन’ बोलको गीतले चर्चा पाइरहँदा अर्को कमेडी गीतले बजार तताइरहेको छ । ‘बल्ल बुझेँ चाल तेरो रैछ त्रिताले’ भन्ने यो गीतले पनि फिल्मको प्रतीक्षालाई अझै बढाइदिएको छ ।

यसअघि ‘छक्का पञ्जा’ टिमले निर्माण गरेका सबै फिल्म व्यावसायिक हिट भइरहेकाले पनि यो टिमबाट दर्शकको बढी नै अपेक्षा छ । निर्माण टिमले पनि यसका लागि निकै मेहनत गरेको बताउँदै आएको छ । कमेडी फिल्म निर्माणमा यो टिमले सफलता हासिल गरिरहेकाले पनि दर्शकलाई ‘छक्का पञ्जा ५’ बाट राम्रै अपेक्षा छ ।

सोही मितिमा रिलिज हुने भनिएको वसन्त निरौलाको फिल्म ‘ज्वाइँ साब’ पनि चर्चामा छ । नीति शाह र जितु नेपालको मुख्य भूमिका हुने यो फिल्म पनि कमेडी शैलीमा नै निर्माण गरिएको छ ।

पहिले दीपकराज गिरीको टिम र जितु नेपालको टिम एउटै भए पनि अहिले प्रतिस्पर्धात्मक हिसाबले एकै मितिमा रिलिज हुँदा फ्यान बाँडिने सम्भावना पनि छ ।

फूलपातीमै आउने भनिएको विराज भट्टको फिल्म ‘१२ गाउँ’ को भने अहिले नै कस्तो व्यापार गर्छ भनेर भन्न सकिने अवस्था छैन । यो फिल्मबाट विराजका छोरा समीर भट्टले डेब्यू गर्दैछन् ।

एक्सन प्रधान भनिएको यो फिल्मले हालसम्म पोस्टर र टिजर सार्वजनिक गरेको छ । फिल्ममा समीरको अभिनय कस्तो छ, यसले दर्शकलाई कत्तिको प्रभाव पार्छ । फिल्मको ट्रेलर कस्तो आउँछ, त्यसअनुसार मात्र दर्शकले धारणा बनाउने सम्भावना छ । टिजरमा भने समीरको राम्रै प्रशंसा भइरहेको छ ।

यी बाहेक ठूला बजेटका केही भारतीय फिल्म रिलिज हुने चर्चा त छँदैछ । दक्षिण भारतीय फिल्म ‘कङ्गुवा’ पनि रिलिज हुँदैछ । यद्यपि नेपाली धेरै फिल्म भएकाले ‘कङ्गुवा’ नेपालमा रिलिज हुने र नहुने भन्ने आधिकारिक जानकारी अझै दिइएको छैन । सूर्यको अभिनय रहेको यो फिल्मले ट्रेलर रिलिज हुनासाथ निकै चर्चा कमाएको छ ।

फूलपातीको एक हप्ताअघि (असोज १७)मा रिलिज हुने स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’ को चर्चा पनि राम्रै छ ।

निर्माण टिमले फिल्ममा समावेश दुई गीत सार्वजनिक गरिसकेको छ । तिजतिर सार्वजनिक ‘केही नभने है मेरी बुहारीलाई’ गीतले त टिककटसमित सामाजिक सञ्जालमा राम्रै चर्चा बटुल्यो । यसको ट्रेलरले पनि दर्शकको मन तानेको छ ।

छक्कापन्जा पाँचको ट्रेलर भने आउन बाँकी छ । फिल्म रिलिज हुन एकसाता अघि ट्रेलर आउने दिपकराज गिरी बताउँछन् ।

फिल्म जुध्दा सधैँ घाटा, तर किन यो क्रम रोकिँदैन ?

नेपाली बजारमा सधैँ नै ठूला फिल्म जुध्दा निर्मातालाई घाटा हुने गरेको छ । तर, यस बारेमा निर्माताले जोखिम मोलिरहेका देखिन्छन् ।

दशैंको समयमा फिल्मले अरू समयमा भन्दा राम्रो व्यापार राम्रो गर्छन् । तर, एउटै मितिमा फिल्म जुध्दा व्यापारमा घाटा हुन्छ ।

यसअघि अघिल्लो साल फागुन २५ गते तीन नेपाली फिल्म एकसाथ जुधेका थिए । प्रायजसो दशैं तिहारमा फिल्म यसरी जुधे पनि फागुनमा फागु पूर्णिमाको अवसरमा फिल्म जुधेको सायद पहिलो पटक थियो ।

‘उपहार, काँडेतार र रङेली’ गरी तीन फिल्म एकसाथ रिलिज हुँदा तिनै फिल्मले बक्स अफिसमा उम्दा व्यापार गर्न सकेनन् । तीन फिल्म जुध्दा इनिसियल व्यापारमा समेत असर गर्‍यो । तीनै फिल्मले व्यापारिक रुपमा सफलता पाउन सकेनन् ।

यसअघि जेठको १० गते ‘फर्की फर्की र पुजार सार्की’बीच भिडन्त भयो । यो भिडन्तको विषयमा मिडियामा लामो समयसम्म टिप्पणी भए पनि निर्माताले समझदारी खोजेनन् । न त यी दुई फिल्मको विषयमा चलचित्र संघ, निर्माता संघले कुनै पहल नै गरे ।

ठूला फिल्म जुध्दा जहिले पनि घाटा भएको उदाहरण हुँदाहुँदै पनि अहिले पनि दशैंमा तीन फिल्म जुध्नु राम्रो नभएको निर्माता संघका अध्यक्ष नवल खड्का बताउँछन् ।

‘‘यो दशैंमा पनि यस्तै अवस्था देखिँदैछ । हामीले ठूला फिल्मलाई एक आपसमा नजुधाउने भन्दै पहल सुरु गरेका थियौँ । छलफलमा राखे पनि मानेनन् । तर अन्ततः व्यापार बाँडिन्छन् । निर्मातालाई नै घाटा हुन्छ । असर समग्र फिल्म क्षेत्रलाई पर्छ ।’’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register