४० बर्षदेखि परिवारको खोजीमा !

काठमाडौँ। बागबजारको रत्नपुस्तक भण्डार भएको गल्लीतिर भेटिन्छन् गोपी अर्याल । ४८ वर्ष टेकेका गोपी निरक्षर हुन्, फेरि पनि यीनको जागिर नेपालकै पुरानो पुस्तक पसल रत्नपुस्तक भण्डारमा छ । निरक्षर भएपनि पुस्तक भण्डारमा काम पाएको छु– मज्जाले हाँसे गोपी अर्याल । तर उनको हाँसो भित्रको पीडा भने भयङ्कर चोटिलो छ । उनको परिवार छ, श्रीमती र […]

Sep 23, 2024 - 11:59
 0
४० बर्षदेखि परिवारको खोजीमा !

काठमाडौँ।

बागबजारको रत्नपुस्तक भण्डार भएको गल्लीतिर भेटिन्छन् गोपी अर्याल । ४८ वर्ष टेकेका गोपी निरक्षर हुन्, फेरि पनि यीनको जागिर नेपालकै पुरानो पुस्तक पसल रत्नपुस्तक भण्डारमा छ ।

निरक्षर भएपनि पुस्तक भण्डारमा काम पाएको छु– मज्जाले हाँसे गोपी अर्याल । तर उनको हाँसो भित्रको पीडा भने भयङ्कर चोटिलो छ । उनको परिवार छ, श्रीमती र एउटा छोरा । उनी आफै भने वेसाहारा हुन् ।

गोपी अर्याल काठमाडौँ छिरेको ४० वर्ष नाघेको छ । यो अवधिमा उनले धेरै हन्डर– ठक्कर खाएका छन् । केटाकेटी उमेर देखि होटल र घरहरुमा मजदूरी गर्न थालेका गोपी आफू भने घरवार विहीन हुन् । मेरोे जन्मघर कहाँ हो म आफैलाई थाहा छैन, अनि कर्मथलोमा घर बनाउने हैसियतनै पुगेको छैन– गोपीले भने ।

काठमाडौँ छिर्नु अघिको बालापन उनले गाउँमै बिताएका हुन् । तर कुन जिल्लाको कुन गाउँ हो भन्ने उनलाई थाहा छैन । गाँउमा बजैसंग बसेका गोपीलाई त्यस्तै ६-७ वर्षको उमेरमा एउटा बैनीसंगै बुबाले मकवानपुरको हेटौडा ल्याएको थाहा छ, कुन गाउँबाट किन हेटौडा ल्याएका हुन् भन्ने कुरा भने थाहा छैन । बुबाले हेटौडा ल्याएपछि म एकदिन ऊनीसँगै कोठामा बसे र भोलिपल्ट बजारको बसपार्कतिर घुम्दै गर्दा एकजना मानिसले काठमाडौँ ल्याएको याद छ– गोपीले भने । 

आमा र बुबाले समेत धेरै माया नगर्ने भएपछि आफू  घरमा बस्न नसकेको गोपी सम्झन्छन् । उनले सानोमा देखेको आमा जन्म दिने आमा हो कि सौतेनी आमा हो भन्ने पनि गोपीलाई थाहा छैनन् । अहिले चाहिँ मलाई ती सौतेनी आमा थिइन कि भन्ने लाग्छ, गोपीले भने– आफ्नै जन्मदिने आमा भए त माया गर्थिन होला, हराउँदा खोजी गर्थिन होला नि !

विगत ४० वर्ष देखि म परिवारकै खोजीमा छु तर कसरी, किन काठमाडौँ आएको हो र बाबु आमा को हो, के गर्नुहुन्छ भन्ने थाहा नभएकोले यतै काठमाडौँ तिरै भौतारीरहेको छु– गोपीले भने ।

गोपी अर्याल नाम र मकवानपुरको हेटौडा घर हो भन्न चाहिँ उनलाई गाउँकै बजैले सिकाएकी हुन् रे । बुबाले गाउँबाट हेटौडा बजार ल्याउने बेला बजैले कतै हराईस भने गोपी अर्याल नाम र मकवानपुरको हेटौडा घर हो भन्नु है भनेर सिकाउनु भएको थियो त्यसैले मलाई विगतको बारेमा यहि दुई कुरामात्र याद छ– गोपीले भने । 

काठमाडौँ आएपछि उनले २-३ वर्ष होटलमा भाँडा माझ्ने काम गरे । त्यसपछि एक दिन इन्द्रचोकमा बसिरहेको बेला त्यहिको स्थानीय विष्णुदेवी गोवर्द्धनले उनलाई घर ल्याएर पालन पोषण गरेको हो रे । म त्यस्तै १० वर्ष उमेरको हुुँदा विष्णुदेवी आमाले घर ल्याएर पालन पोषण गर्नु भयो र उहाँको छोरा समेतको सहयोगमा २०६६ सालमा विवाह समेत गरिदिनु भयो– गोपीले भने ।

विष्णुदेवी गोर्वद्धनको परिवार इन्द्रचोकबाट बागबजार सरेपछि उनी पनि यतै आएका हुन् ।
कोरोना पछिबाट भने गोपीले बिष्णुुदेवीको घर छोडेर रत्नपुस्तक भण्डारमा काम गर्न थालेका हुन् । अहिले बिष्णेदेवी गोवर्द्धनको समेत मृत्यु भै सकेको गोपीले सुनाए । 

मलाई सानोमा पालन– पोषण गर्ने मेरो गाउँको बजै र विष्णुदेवी आमाको निक्कै याद आउँछ– गोपीले भने । गाउँको बजैको पनि निधन भै सक्यो या जीवितै हुनुहुन्छ कसरी थाहा पाउनु होला ? गोपीले पीडा सुनाए ।

अहिले उनको छोरा १३ वर्षको भयो । श्रीमतीको राम्रै जागिर भएकोले उनीहरुले छोरालाई बागबजारकै रोयल पब्लिक स्कूलमा पढाएका छन् । आफ्नो घर– परिवारको ठेगान नहुँदा गोपीलाई छोराको जन्मदर्ता गर्न र पछि नागरिकता बनाउन समस्या हुुने कुराले पिरोलेको छ । मेरो घर परिवारको ठेगान नभएकोले नागरिकता बन्न सकेको छैन, गोपीले दुःखी हुँदै भने– त्यसैले छोराको जन्मदर्ता र अरु कानुनी कुरामा समस्या भएको छ । 

सानैदेखि मुटुको रोगि रहेका गोपीलाई बाबु– आमाको सम्पतिको लालच छैन, तर बाबुु– आमाको पहिचान भए आफ्नो नागरिकता बनाएर पछि छोरालाई सहज गरिदिन सकिन्थ्यो कि भन्ने आस छ । पत्रिकातिर खबर आउँदा धेरैको परिवारसँग भेट भएको भन्ने सुनेको छु, गोपीले भने– मेरो खबर पनि पत्रिकामा छापिएपछि बाबु– आमा र परिवारसँग भेट हुन्छ कि !

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register