पहिरोले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधमा क्षति

काठमाडौं । अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचनामा क्षति पुर्याएको छ । माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाट विद्युत् उत्पादन बन्द गरिएको छ । बाँधका सम्पूर्ण ढोकाहरु खुल्ला गरिएको छ । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा […]

Sep 28, 2024 - 08:57
 0
पहिरोले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधमा क्षति

काठमाडौं । अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचनामा क्षति पुर्याएको छ ।

माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाट विद्युत् उत्पादन बन्द गरिएको छ । बाँधका सम्पूर्ण ढोकाहरु खुल्ला गरिएको छ ।

बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने नहर (कल्भर्ट)मा क्षति पुगेको छ । नियन्त्रण कक्ष, डिस्याण्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको अनुमान गरिएको छ ।

आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लि.का प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोहन गौतमले विद्युतगृह रहेको स्थान गोंगरबाट बाँधसम्मको प्रवेश मार्गमा पर्ने खोलाहरुमा बाढी आएका कारण कोहीपनि त्यहाँसम्म पुग्न नसकेकोे बताए ।

गौतमले पहिरोको प्रकृति हेर्दा नियन्त्रण कक्ष, डिस्याण्डर र कल्भर्टलगायतका संरचनामा क्षति पुर्याएको अनुमान गरिएको उल्लेख गरे । पहिरोका कारण जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुङ्गा, लेदो थुप्रिएको छ ।

नियन्त्रण कक्षमा रहेका दुई जना कर्मचारीलाई उद्धार गर्न लागिएको र हालसम्म कुनै मानवीय क्षति भने नभएको उनले बताए । जिल्ला प्रशासन कार्यालय, दोलखासँगको समन्वयमा उद्धारमा लामाबगरस्थित नेपाली सेना, नेपाल प्रहरी र सशष्त्र प्रहरी बल परिचालन गरिएको छ ।

तामाकोशी आयोजनाको डिजाइन डिस्चार्ज (पानीको बहाव) ६६ क्युमेक हो । अहिले तामाकोशी नदीको बहाव बाँधस्थलमा ४६१ क्युमेक छ । नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत् खरिद बिक्री सम्झौता बामोजिम नदीमा पानीको बहाव २५० क्युमेक हुनासाथ विद्युत्‌गृह बन्द गर्नु पर्ने छ ।

शुक्रबार दिउँसो ४ बजेपछिबाट पानीको बहाव २५० क्युमेक नाघेको र पानीको बहाव बढ्ने क्रम रहेपछि साँझ ७ बजेबाट विद्युत् उत्पादन पूर्ण रुपमा बन्द गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register