वन र वन्य जन्तुको संरक्षणमा गर्दै दुर्गाभिट्टा वन समूह

द्रोण अधिकारीभद्रपुर, ५ असोज । दक्षिणी झापाको कचन कवल ३ मा रहेको दुर्गाभिट्टा सामुदायिक वन समूह जलथल वनमा रहेको जैविक विविधताको संरक्षण गर्दै घाइते वन्य जन्तुको पालनपोषण समेत गर्दै आइरहेको छ । वि सं २०५८ सालदेखि सरकारी स्वामित्वको जलथल वनको २५४ हेक्टर क्षेत्र समुदायमा ल्याएर मासिन लागेको जैविकता र लोपोन्मूख जनवारको संरक्षण गर्दै हरित आन्दोलन [...] The post वन र वन्य जन्तुको संरक्षणमा गर्दै दुर्गाभिट्टा वन समूह appeared first on Jhapa Online.

Sep 21, 2024 - 15:14
 0
वन र वन्य जन्तुको संरक्षणमा गर्दै दुर्गाभिट्टा वन समूह

द्रोण अधिकारी
भद्रपुर, ५ असोज ।
दक्षिणी झापाको कचन कवल ३ मा रहेको दुर्गाभिट्टा सामुदायिक वन समूह जलथल वनमा रहेको जैविक विविधताको संरक्षण गर्दै घाइते वन्य जन्तुको पालनपोषण समेत गर्दै आइरहेको छ ।

वि सं २०५८ सालदेखि सरकारी स्वामित्वको जलथल वनको २५४ हेक्टर क्षेत्र समुदायमा ल्याएर मासिन लागेको जैविकता र लोपोन्मूख जनवारको संरक्षण गर्दै हरित आन्दोलन चलाइरहेको वन समूह दुर्गाभिट्टा सामुदायिक वन हो ।

उच्च पहाडी भेगदेखि समथल तराइको हावापानीमा पाइने १५० बढी प्रजातिका काठ दाउरा योग्य रूख विरूवा तथा ५५० बढी वनस्पतिका प्रजातिको सामूहिक स्वरूप रहेको जलथल वनको दक्षिणी अवशेषमा अवस्थित दुर्गाभिट्टामा भण्डै सय प्रजातिका काठ दाउरा योग्य रूख विरूवा पाइने गर्छन् ।

उच्च पहाडमा पाइने कटुस्, चिलाउनेदेखि सन्सारमै लोप हुन लागेको साइकस प्रजातिको कलवलसम्मका वृक्ष यस वन क्षेत्रमा पर्याप्त पाइन्छन् । समितिका संस्थापक अध्यक्ष भिमप्रसाद लुईटेलले दिएको जानकारी अनुसार वन समूहमा आउनु अगाडि रूख गन्न सक्ने झारपातको घेरामा सिमित थियो भने २५ वर्षको अभियानमा रैथाने प्रजातिका विरूवा हुर्किएर छिर्न नसक्ने पट्टेर भइसकेको अवस्था छ ।

लुईटेलका अनुसार २५ वर्ष अगाडि हरिण, मृग, बँदेल, हात्ती लगायतका जनवार निकै कम देखिन्थे तर अचेल जताततै देख्न सकिनेअवस्था छ । चारकोशे झाडीको एउटा सानो अवशेषका रूपमा रहेको जलथल वन नेपालको सुदुर पूर्वको एक मात्र जैविक विविधता बोकेको प्राकृतिक सम्पदा मानिन्छ । पूर्वी दक्षिणी झापाको भद्रपुर, कचनकवल, हल्दिवारी तथा बाह्रदशी गाउँपालिकाको सिमानासित गासिएको यस वनभित्र पाइने जैविकताको संरक्षणका लागि स्थानीय सरकार मुख्य जिम्मेवार हुनु पर्ने थियो । तर स्थानीय उपभोक्ता समितिका अनुसार सरकारी तवरबाट जलथल वनको संरक्षणमा खासै लगानी गरिएको छैन । यस्को एउटा ज्वलन्त उदाहरण दुर्गाभिट्टा वनले घाइते अवस्थामा फेला परेका हरिण तथा मृग र निल गाईलाई उपचार र खानपान आफ्नै प्रयासमा गरिरहेको छ । स्थानीय सरकारसित घाइते वन्य जन्तु राख्न सुरक्षित टहरा बनाइ दिन माग गर्दा सुनुवाइ नभइ वर्षौं बितिसकेको छ ।

नेपालमा रहेको वन क्षेत्र मध्ये विरलै मानिएको जैविक विविधताको वृहद स्वरूप भएको एक मात्र वन क्षेत्र भित्र जलथल वन पर्दछ । एशिया माहादेशमा रहेका वनहरू मध्येमा अधिक जैविक विविधता संरक्षित भएको मानिएको जलथल जंगल पछिल्ला वर्षहरूमा वनमारा प्रजातिका लहराले घेरेर संकटमा पर्दै गएको छ । यस्तो संकटसित पनि वन समिति एक्लै लड्नु पर्ने बाध्यता रहेको गुनासो आइरहेको छ ।

वनभित्र रहेका पानीका मुहान सुक्दै जाँदा जलचर तथा स्थल प्राणीको आहारा व्यवस्थापनमा पनि संकट पैदा भइरहेको छ । यस वनमा रैथाने रूपमा बस्न थालेका झापाका दर्जनौं हात्ती आहारा र पानीको अभावकै कारण आसपासका गउँ बस्तीमा पसेर अन्न बाली नष्ट गर्ने तथा जनधनको क्षति गर्ने क्रम बढिरहेको छ । मिचाहा प्रजातिका झार तथा लहराका कारण चरिचरण अभावमा परेका हात्ती, मृग, बँदेल, निलगाई लगायत स्थल प्राणी संकटको सामना गरिरहेका छन् । यी जनवार गाउँ बस्तीमा पसेर अन्न बाली खान थालेपछि अन्न बाली जोगाउने क्रममा किशान र जंगली जनावार बिच द्वन्द्व हुँदा मानिस र जनवार दुवै पक्षको ज्यान जाने अवस्था बढिरहेको छ ।

वन सम्बद्ध विज्ञहरूका अनुसार जलथल वन क्षेत्रमा १७० किसिमका चरा, १५० किसिमका पुतलीहरू रहेका छन् । सरिश्रिप प्रजाति अन्र्तगत अत्यन्त विषालु गोमन, करेत सर्पदेखि अजिङ्गरका ठूला—साना प्रजातिसम्मको बसोबास रहेको पाइन्छ । यस्तै गोहोरो, सुनगोहोरो, भानेमुंग्रो, छेपारो तथा शालकसम्मका प्रजातिको पनि बासस्थानका रूपमा जलथल वनको पहिचान रहेको छ । त्यस्तै कटुस , लटहर, बेत, सतिसाल जस्ता दुर्लभ वनस्पति, बदेल, हरिणजस्ता वन्यजन्तु यस वनको रैथाने प्रजातिमा पर्दछन् । केही वर्षयता सालक, बाँदर जस्ता वन्यजन्तुको संख्या कम हुँदै गएको छ । यी सवै अवस्था सम्झेर दुर्गाभिट्टा सामुदायिक वन समूहले रैथाने वन संरक्षण गर्दै रैथाने वन्य जन्तुको सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

जलथल जंगललाई हात्ती करिडोरको रूपमा विकास गर्न सकिने संभावना देखिन्छ । हात्तीका लागि उपयुक्त हावापानी भएको यस वनमा झापामा आइपुग्ने भारतीय क्षेत्रका पाहुना हात्ती समेत बास बस्न आउने गरेका छन् । ६१०० हेक्टरमा फैलिएको जलथल वन भित्र २२ वटा वन समूहहरू रहेका छन् । यी समूहहरूले रूख जोगाएका भए पनि जैविकता बचाउन भने सकेको अवस्था छैन । पछिल्लो पटक २२ वटा समूह मध्येमा रहेको दुर्गाभिट्टा सामुदायिक वन समूहले जैविकता बचाउने अभियान चलाइ रहेको छ । स्थानीय प्रजातिभन्दा अन्य आयातित प्रजातिका रूख रोप्न नहुने अभियान चलाएर रैथाने वन जोगाउने कार्य समितिले गर्दै आइरहेको छ । यस अभियानसित समूहले अप्ठ्यारोमा परेका वन्य जन्तु बचाउने काम पनि गरिरहेको छ । अहिलेसम्म १४ वटा घाइते तथा अशक्त मृगको उद्धार गरेर उपचार गर्दै संरक्षण गरेको वन समूहले ४ वटा मृग बचाएर पनलेको छ भने बिचमा एउटा त्यही वन समूहमा संरक्षित माउबाट जन्मिएर ५ वटा रहन पुगेका छन् । त्यस्तै एउटा निल गाई पनि संरक्षण गरेर समूहले पालिरहेको छ । ती वन्य जन्तुको रेखदेख र खानपानका लागि समूहले आफ्नै लगानीमा दुईजना हेरालुलाई पूर्ण रोजगार दिएर राखेको छ । उनीहरूले घाँसपानी दिँदै रेखदेख गरिरहेका छन् ।

रकम अभावले संरक्षणमा रहेका वन्य जन्तुका लागि घामपानीबाट जोगाउन व्यवस्थित टहरो भने बनाउन नसकिएको उपभोक्ता केशव कौशिक बताउँछन् । हेरालु मदन दर्जीका अनुसार घाँसका अलवा महिनामा एक बोरा चोकर तथा मकैको पिठो संरक्षित गरेर राखिएका वन्य जन्तुलाई खुवाइने गरेको छ । त्यसका लागि लाग्ने खर्च समितिले नै धान्नु पर्ने बाध्यता छ । सरकारी पक्षलाई काठ दाउरा उपभोग वापत वार्षिक लाखौं राजश्व तिर्ने वन समितिलाई राज्य पक्षले स्तर उन्नतिका लागि लगानी भने नगरेको समितिका पदाधिकारीको गुनासो छ ।

The post वन र वन्य जन्तुको संरक्षणमा गर्दै दुर्गाभिट्टा वन समूह appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register