दशैं तिहारमा खाद्यान्न अभाव नहुने

बाजुरा । बाजुरामा यस वर्ष दशैं तिहारमा खाद्यान्न अभाव नहुने बताइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा, मार्तडी र कोल्टी शाखामा मागअनुसार खाद्यान्न मौज्दात रहेकाले यस वर्ष विगतमा जस्तो खाद्यान्न अभाव नहुने जनाइएको हो । मार्तडी शाखामा चार हजार र पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकास्थित कोल्टी शाखामा दुई हजार ३०० क्वीन्टल चामल […]

Sep 23, 2024 - 09:09
 0
दशैं तिहारमा खाद्यान्न अभाव नहुने

बाजुरा । बाजुरामा यस वर्ष दशैं तिहारमा खाद्यान्न अभाव नहुने बताइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा, मार्तडी र कोल्टी शाखामा मागअनुसार खाद्यान्न मौज्दात रहेकाले यस वर्ष विगतमा जस्तो खाद्यान्न अभाव नहुने जनाइएको हो ।

मार्तडी शाखामा चार हजार र पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकास्थित कोल्टी शाखामा दुई हजार ३०० क्वीन्टल चामल मौज्दात रहेकाले दशैं तिहारमा खाद्यान्नको कमी नहुने शाखा कार्यालय मार्तडीका प्रमुख उमेश भण्डारीले जानकारी दिए ।

उनले विगतमा जस्तो खाद्य अभावका कारण कतिपय नागरिकले महँगो चामल किन्न बाध्य हुने अवस्था यस पटक नआउने बताए ।

“वर्षायाममा सडक बाटो बन्द हुने हुँदा ढुवानी समस्याले यहाँ हरेक चाडपर्वमा खाद्यान्नको चरम अभाव हुने गरेको थियो । यस वर्ष ठेकेदारले समयमै खाद्यान्न ढुवानी गरेको र माग अनुसारको खाद्यान्न आएकाले चामल अभाव हुने सम्भावना न्यून छ”, भण्डारीले भने ।

शाखा कार्यालय मार्तडीमा चार हजार क्वीन्टलमध्ये अरुवा मोटो चामल दुई हजार १०६, अरुवा सोना चामल एक हजार ६८५ र जिरा मसिनो चामल दुई सय २५ क्वीन्टल मौज्दात रहेको जनाइएको छ ।

यस्तै, कोल्टी डिपो कार्यालयमा दुई हजार ३००  क्वीन्टल चामलमध्ये अरुवा मोटो एक हजार ९६९, सोना मन्सुली २०२ क्वीन्टल र जिरा मसिनो १५१ क्वीन्टल चामल मौज्दात रहेको छ ।

मार्तडी र कोल्टीमा सहुलियत पसल सञ्चालन

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लाका मार्तडी र कोल्टीमा आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । दशैं तिहारलगायत चाडपर्वलाई लक्षित गरी सहुलियत पसल सञ्चालन गरिएको कार्यालय प्रमुख भण्डारीले जानकारी दिए ।

सरकारले असोज ३ गतेदेखि देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याए पनि सुदूरपश्चिममा भने केही ढिला गरी सञ्चालन गरिएको उनको भनाई छ । सुपथ मूल्य पसलमा चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएर बिक्री वितरण गर्न थालिएको छ ।

जिल्लाभरी चार हजार क्वीन्टल चामल बिक्री गर्ने अनुमति दिएकाले आगामी चार महिना अर्थात् आगामी माघ २ गतेसम्म सञ्चालन हुनेछ । जहाँ प्रतिव्यक्ति एक बोरा मात्रै चामल खरिद गर्न सकिने र सम्बन्धित व्यक्तिले नागरिकता नम्बर वा फोन नम्बर अनिवार्य उपलब्ध गराउनुपर्ने नियम लगाइएको छ ।

हाल सोना मोटा चामलको प्रतिकिलो ६० रुपैयाँ, अरुवा मोटा ५९ रुपैयाँ र जिरा मसिनो ८७ रुपैयाँमा बिक्री वितरण भइरहेको छ ।

मुक्तिकोट, कवाडीका नागरिकलाई समस्या

जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाको मुक्तिकोट र हिमाली गाउँपालिकाको कवाडीमा कम्पनीको अस्थायी बिक्री केन्द्र छ । जहाँ समयमा खाद्यान्न ढुवानी नहुँदा नागरिकले सहुलियत दरमा खाद्यान्न लिनका लागि एक दिन पैदल यात्रा हिँडेर कोल्टी डिपोमा धाउनुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।

कवाडी बिक्री केन्द्रमा करिब सात महिना र मुक्तिकोटमा तीन महिनादेखि खाद्यान्न आपूर्ति हुन सकेको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register