रास्वपाको टोली भोलि मात्रै फर्किने, नेताहरू चीन जाँदा किन भइरहन्छ अनौठो संयोग ?

नेपालका नेताहरूको चीन भ्रमणसँगै नेपालको राजनीतिक परिदृश्यमा महत्त्वपूर्ण घटनाक्रम हुने एउटा अचम्मको संयोग देखिँदै आएको छ । यस्तो अनौठो संयोग अहिले मात्र नभई यसअघि पनि देखिएको थियो, जतिबेला नेताहरूले भ्रमण पुरा गर्न नपाउँदै स्वदेश फर्किन बाध्य भएका थिए ।

Sep 24, 2024 - 08:21
 0
रास्वपाको टोली भोलि मात्रै फर्किने, नेताहरू चीन जाँदा किन भइरहन्छ अनौठो संयोग ?

काठमाडौं । उपसभापति डा स्वर्णिम वाग्लेको नेतृत्वमा शनिबार दश दिने चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टीको १४ जनाको टोली बुधबार मात्रै नेपाल फर्किँदै छन् । सोमबार नै नेपाल फर्किने बताइए पनि टिकट नपाउँदा भोलि मात्रै फर्कन लागेका हुन् ।

सभापति रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणले फरक राजनीतिक घटनाक्रम बनेपछि शनिबार चिन पुगेको टोलीलाई आइतबार फर्कन भनिएको थियो ।

नेपालका नेताहरूको चीन भ्रमणसँगै नेपालको राजनीतिक परिदृश्यमा महत्त्वपूर्ण घटनाक्रम हुने एउटा अचम्मको संयोग देखिँदै आएको छ ।

कुनै पनि राजनीतिक दलका शीर्ष नेता वा पार्टीका प्रतिनिधिमण्डल चीन गएका बेला उतारचढाव भएका घटना दोहोरिँदै आएको छ ।

यस्तो अनौठो संयोग अहिले मात्र नभई यसअघि पनि देखिएको थियो, जहाँ नेताहरूले भ्रमण पुरा गर्न नपाउँदै स्वदेश फर्किन बाध्य भएका थिए ।

अहिले पहिलोपटक रास्वपा उपसभापति डा स्वर्णिम वाग्लेसहित सांसद तथा नेताहरु चीन भ्रमणमा गएकाबेला सभापति रवि लामिछानेमाथि संकट आइपर्‍यो ।

सहकारी ठगीमा संसदीय समितिले उनलाई जिम्मेवार ठहर गरेपछि सरकारले रविमाथि एक्सन लिन थालेको हो । वाग्लेसहितको टोली चीन पुगेकै दिन रविलाई पक्राउ गर्न प्रहरी वनस्थलीस्थित पार्टी कार्यालयमा पुग्यो । पार्टी कार्यालयमा तनावको स्थिति बन्यो ।

सभापति लामिछानेले आफूलाई सरकारले पक्राउ गरेमा प्रतिवाद गर्ने निर्णय गराउँदै चीन भ्रमणमा रहेको टोलीलाई तत्काल स्वदेश फर्किन निर्देशन दिए । उनको पक्राउ र वाग्लेको टोलीको चीन भ्रमणसँग के सम्बन्ध थियो र तत्काल फिर्ता हुन निर्देशन दिनुपर्ने आवश्यकता आयो ? चासोको विषय बनेको छ ।

सभापतिको निर्देशनपछि उपसभापति स्वर्णिम वाग्लेसहित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद तथा नेता आकस्मिकरुपमा स्वदेश फर्किने निर्णयमा पुगे । तर टिकटक नपाएपछि अझै चीनमै रोकिएका छन् ।

पार्टीकी कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद शिशिर खनाल, गणेश पराजुली, तोसिमा कार्की र असिम शाह, तथा नेताहरू बसुमाया तामाङ, निशा मेहता, पुकार बम, तपेश्वर यादव र प्रकाश विष्टलगायत फर्किने तरखरमा छन् ।

रास्वपा नेताहरूले फर्किने निर्णय लिएसँगै चिनियाँ नेता र रास्वपाका नेताहरुबीच हुने निर्धारित सम्पूर्ण कार्यक्रम रद्द भएका छन् । १० दिने भ्रमणमा उनीहरूले तीन प्रान्तको अवलोकन र द्विपक्षीय अन्तरक्रिया गर्ने कार्यक्रम थियो । चीनले पहिलोपटक औपचारिकरुपमा रास्वपा नेताहरूलाई भ्रमणका लागि निम्तो दिएको थियो ।

एमाले नेता जाँदा परेको संयोग

यस्तै संयोग एमाले नेता विष्णु रिमालको टोली चीन भ्रमणमा रहँदा परेको थियो । एमालेका तत्कालीन उपमहासचिव विष्णु रिमालको नेतृत्वमा एमाले नेताहरु ११ असारमा चीन भ्रमणमा गएका थिए ।

उच्चस्तरीय प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सन ह्याइयानसँग शिष्टाचार भेट गरिरहेकाबेला नेपालमा १७ असारमा कांग्रेस र एमालेको सरकारको खाका तयार भएको थियो ।

एमालेले नेकपा माओवादी केन्द्रसँग गठबन्धन तोडेर कांग्रेससँग सरकार बनाउने ७ बुँदे सहमतिको खाका तयार गरिसकेको थियो । नेपालको राजनीतिक इतिहासमा यो निकै ठूलो परिवर्तन थियो ।

हाल प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार रहेका रिमालले त्यो बेला चीनको हवेइ प्रान्तको नवनिर्मित स्मार्ट सिटी सियाङ्गाआ शहरमा अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सन ह्याइयानलाई भेटेका थिए ।

उनीहरुबीच दुई कम्युनिस्ट पार्टी, दुवै देशका सरकार र जनस्तरमा आपसी सहयोग आदानप्रदानलगायत विषयमा छलफल भएको थियो ।

त्यो भ्रमण टोलीमा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटब्युरो सदस्यहरू विनोद श्रेष्ठ, सुजिता शाक्य, केन्द्रीय सदस्यहरू, पार्टीका प्रदेश तथा जिल्ला अध्यक्षलगायत २९ जना सहभागी थिए ।

यस्तै, अर्को संयोग एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा नेकपा एमालेका २२ सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गर्दा भएको छ । महासचिव पोखरेलको टोली चीन जाँदा पार्टीका नेता सुवास नेम्वाङको अचानक निधन भयो ।

नेम्वाङको निधनपछि महासचिव पोखरेलसहितको टोली सम्पूर्ण कार्यक्रम रद्द गरेर स्वदेश फर्किनुपरेको थियो ।

भ्रमण टोलीमा महासचिव पोखरेलसहित स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराई, स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतम, पोलिटब्युरो सदस्य ज्वालाकुमारी शाह लगायत थिए । अचानक स्वदेश फर्किनु परेपछि चीनसँगका निर्धारित सम्पूर्ण कार्यक्रम रद्द हुँदा थुप्रै कुरा अघि बढ्न सकेन ।

रास्वपाले नेता फर्काउनुको अर्थ

अहिले रास्वपालाई चीन भ्रमणमा बोलाएका बेला सभापतिकै प्रकरणले रास्वपाको उच्चस्तरीय टोली फर्कँदैछन् । २०२४ को सुरुवातमा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको उच्चस्तरीय टोली नेपाल भ्रमणमा आएको थियो ।

यो टोलीको नेतृत्व चिनियाँ उपमन्त्री सुन हैयानले गरेका थिए । भ्रमणको क्रममा सुन हैयानले रवि लामिछानेसँग भेट गरेका थिए ।

नेपालको राजनीतिक परिदृश्यमा रास्वपाको चाँडो उदयलाई स्वीकार गर्दै पार्टीको सफलताका लागि बेइजिङको शुभेच्छासमेत उनले व्यक्त गरेका थिए । अहिले रास्वपाको टोली चीन भ्रमणमा रहेका बेला सभापति लामिछाने पक्राउको चर्चा संयोग पर्न गएको छ ।

रास्वपाका उपसभापति डा.वाग्लेले ‘मोन्रो डक्ट्रिन’ को चर्चा गर्दै भारतप्रति नरम दृष्टिकोण राखेको सन्दर्भमा उनको चीन भ्रमणलाई पनि अर्थपूर्णरुपमा हेरिएको थियो ।

नेपालमा बढ्दै गएको राजनीतिक अस्थिरताको कारण दुई दिनमै टोलीलाई स्वदेश फर्काउनु यसलाई पनि आश्चर्य मानिएको छ । लामिछानेले चीनसँगको सम्बन्धले निम्त्याउन सक्ने विवादलाई रोक्न प्रतिनिधिमण्डललाई फिर्ता बोलाएको आशंका धेरैले गर्न थालेका छन् ।

रास्वपाले भने चीनको भ्रमण विश्व राजनीतिक गतिविधिहरू बुझ्न र अन्तर–पार्टी सम्बन्धलाई प्रवर्द्धन गर्नको लागि गरिएको भनेर स्पष्ट पारेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register