‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछ’

बझाङ । करिब दुई किलोमिटर टाढा छ गाउँ । नियमित आवतजावत पनि हुँदैन । कहिलेकाहीँ गाउँ र आफन्तहरूसँग भेट हुन पनि लामै समय कुर्नुपर्छ । लेकतिर अस्थायी गोठ भएका आफन्तबाहेक अरूसँग भेट गर्न नदिने नियति छ, विष्नादेवी बुढाको । मष्टा गाउँपालिका–६ रिलुकी विष्नाको अगाडि दुःखको पहाड आइलागेको ८ वर्ष जति भयो । ७ वर्षदेखि उनी […]

Sep 21, 2024 - 08:01
 0
‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछ’

बझाङ । करिब दुई किलोमिटर टाढा छ गाउँ । नियमित आवतजावत पनि हुँदैन । कहिलेकाहीँ गाउँ र आफन्तहरूसँग भेट हुन पनि लामै समय कुर्नुपर्छ । लेकतिर अस्थायी गोठ भएका आफन्तबाहेक अरूसँग भेट गर्न नदिने नियति छ, विष्नादेवी बुढाको ।

मष्टा गाउँपालिका–६ रिलुकी विष्नाको अगाडि दुःखको पहाड आइलागेको ८ वर्ष जति भयो । ७ वर्षदेखि उनी एकल महिला हुन् । भारतका विभिन्न ठाउँमा मजदुरी गरेर परिवार जीविको धानिरहेका श्रीमान् एक्कासि बिरामी भएर थला परेपछि उनका दुःखका दिन सुरु भएका थिए ।

“श्रीमान् बिरामी भएपछि धेरै ठाउँमा उपचार गर्यौं । आफन्तको सहयोगमा धेरै अस्पताल चहार्दा पनि केही भएन । फेरि घर ल्याएको केही समयमै उहाँले प्राण त्याग्नुभयो”, विष्नाले आँसु चुहाउँदै सुनाइन् ।

श्रीमानको निधनपछि विष्नाका सबै सपना अधुरा रहे । बालबालिकाको पढ्ने चाहना पनि बाध्यताको पहाडमै थिचियो । परिवारको सहारा टुट्यो । छिमेकीको भरोसा ढल्यो ।

“उहाँको निधनपछि गाउँलेबाट हरेक कुरामा हेपिँदै आयौँ । गाउँमा बस्ने अवस्था रहेन । त्यसैमाथि घर पनि भत्कियो । अन्धकार दुनियाँबाट बाहिर निस्कन पनि लेकको घरमा बसाइँ सर्यौं । अहिले यहाँ समाज भएर पनि नभएजस्तै जिन्दगी बिताइरहेका छौँ”, उनले पीडा पोखिन् ।

गाउँमा सबैका बालबालिका पढेको देखेपछि आफ्ना सन्तानलाई पनि पढाउने विष्नाको चाहना थियो । तर एक गाँस खानैका लागि संघर्ष गर्नुपर्ने उनलाई पेटको भोकभन्दा भविष्यको चिन्ता फिका लाग्यो । त्यसैले बालबालिकालाई पढाउने सपना सपनामै सीमित रहन पुगेको थियो । अहिले गरिब तथा एकल महिला भनेर संघसंस्थादेखि केही मन मिल्ने आफन्तको सहयोगमा गाउँकै आधारभूत विद्यालयमा बालबालिकालाई भर्ना गराएको विष्नाले जानकारी दिइन् ।

“गाउँमा उब्जनी केही हुँदैन, सबै किनेर खानुपर्छ । पहिले पहिले त साग तरकारी पनि गाउँमा फलाउँथ्यौँ, कैयौँ छाक साग सिस्नोले पनि गुजारा चल्थ्यो । आजभोलि बर्खाबाहेक अरू समयमा पानी पाइँदैन । त्यसैले उब्जनी हुँदैन”, उनले भनिन् ।

आफ्नो उब्जनीले तीन महिना मात्रै खान पुग्ने गरेको विष्नाले बताइन् । “बाँकी ९ महिना बेसाएर अन्न किन्नुपर्ने अवस्था छ । साउन र भदौ मात्रै अलिकति हरियोपरियो हुन्छ । बाँकी महिना त खडेरी नै हो”, उनले भनिन् ।

५६ वर्षीया विष्नाका पाँच सन्तानमध्ये कान्छी हुन् छोरी बिमला । बिमलाले अहिले ७ वर्षमा पाइला टेकिन् । उनी गर्भमा हुँदा नै बुबाको देहान्त भयो ।

विष्नाले बुबाको अभाव नहुनेगरी छोराछोरीलाई हुर्काइन् ।

आफूले जति दुःख पाए पनि छोराछोरीले त्यति दुःख नपाऊन् भन्ने विष्नाको चाहना छ । तर अभावमा गुज्रिएका परिवारलाई दुःख मेटिनु सपना झैँ हुन लागेको उनको कथन छ ।

विष्ना अहिले लेकमा बसेर वस्तुभाउ पालिरहेकी छिन् । चार सन्तान रिलुकै विद्यालयमा पढ्न जान्छन् भने एकजनालाई वडाध्यक्ष शिवराज बोहराले सदरमुकाम चैनपुरमा आफैँसँग राखेर पढाउन सहयोग गरिरहेका छन् ।

“गाउँमा सबैका दुःख छन्, विष्नाको परिवारलाई त अझ धेरै नै दुःख छ । बालबालिका पढ्नसमेत नपाएको हुँदा एकजनालाई आफैँसँग राखेर पढाइरहेको छु”, वडाध्यक्ष बोहराले भने, “सबै बालबालिकालाई पढाउन सकिएन । गाउँमा धेरै बालबालिका शिक्षाबाट वञ्चित छन् । त्यसैमा पनि अति धेरै पीडा विष्नालाई भएको हुँदा एक बाबुलाई मैले पढाइरहेको छु ।”

यी समस्या त छँदै थिए, गत वर्ष असोज १६ गतेको भूकम्पले लेकको छानोमा समेत क्षति पुर्याएपछि पीडामाथि थप पीडा थपियो । “पीडै पीडा भइरहेका बेला फेरि भूकम्पले पीडा दियो,” विष्नाले भनिन्, “आफ्नो भाग्यमा खुसी भन्ने लेखेकै रहेनछ । एउटा च्यातिएको त्रिपालको सहारामा एक साता खुला ठाउँमा काट्यौँ । पालिकाले अरू भूकम्पपीडितका जस्तै हाम्रो लागि पनि सानो टहरा बनाइदिएपछि केही सहज भयो ।”

भूकम्प आएपछि धेरैले सहयोग गर्ने वचन दिएको उनी सम्झिन्छिन् । “धेरैले सहयोग गर्ने भने पनि एउटा संस्थाले रु १५ हजार सहयोग गर्यो । सोही रकमबाट चामल किनेर चार÷पाँच महिनासम्म खायौँ,” उनले भनिन्, “अरू समस्या त छँदै थियो । बासकै पनि समस्या थपिएपछि घर न घाट जस्तै भएका थियौँ । पछि स्थानीय सरकारको समन्वयमा टहरा पाएका छौँ । बस्ने व्यवस्था भएको छ ।” रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register