चिनियाँ गाउँ देजी : ह्वाङ्हो किनारको सान्या

नदी किनारमा बाहिरबाट ल्याइएको बालुवाले समुद्री तटको झल्को दिन्थ्यो । बाँधका कारण यलो नदीको यो किनारदेखि अर्को किनारसम्मको विस्तार बेगनास तालको जस्तो देखिन्थ्यो । पिङ, नदीको अलिकति भित्र पुगेर सेल्फी लिन मिल्ने ठाउँहरू, बोटिङ, गार्डेन, व्यवस्थित थियो । यो गाउँ नयाँ वस्ती विकास गर्नुअघि रुखो पाखो मात्र थियो ।

Sep 23, 2024 - 12:17
 0
चिनियाँ गाउँ देजी : ह्वाङ्हो किनारको सान्या

ह्वाङ्हो (पित नदी या एल्लो रिभर) का बारेमा हामीले विद्यालयमा पढेको पाठको सारमा दुःखको कथा थियो । हजारौं वर्षको चिनियाँ सभ्यता निर्माणको मुख्य स्रोत रहेको यो नदीले सम्पन्नता त ल्याएको थियो तर, बेलाबखत आउने बाढीले किनारका बस्ती बगाउँथ्यो, डुबाउँथ्यो र खेत खलिहानमा लगाएको बाली सखाप पार्थ्यो । बाँचेका बासिन्दाले निकै दुःख पाउँथे । अनिकाल बेहोर्थे ।

यता नेपाल र भारतमा कोशी नदीलाई बिहारको दुःख भनेर बुझेजस्तै ह्वाङ्हो नदीलाई चीनको दुःख भनेर चिनाइन्थ्यो । पछि ह्वाङ्हो र त्यहाँका जनताको बारेमा लेखिएका अनेकन् कहानी र सन्दर्भ पढियो । बिस्तारै हाम्रो दिमागबाट ह्वाङ्होको पुरानो कहावत मेटिँदै गयो । यसरी मेटिनुमा पछिल्लो समय चिनियाँँ सरकारले अपनाएका नीति र नदीको स्रोत तथा जलाधार व्यवस्थापनमा भएका प्रयासले काम गरेको हुनसक्छ ।

अहिले हामी यही ह्वाङ्हो नदीको किनारमा छौँ र दुःख र गरिबी निवारणको उदाहरण बनेको देजी गाउँको अवलोकन गरिरहेका छौँ । यो गाउँ चीनको छिङहाइ प्रान्तअन्तर्गत हुआङनान तिब्बतीयन स्वायत्त प्रिफेक्चरको जियान्चा काउण्टीमा रहेको छ ।

प्रिफेक्चरमा ७० प्रतिशत जति तिब्बतीयन समुदायका मानिस बसोबास गर्ने भएकोले यसलाई तिब्बतीयन स्वायत्त इकाइका रूपमा मान्यता दिइएको रहेछ । यो प्रिफेक्चर ह्वाङ्होको पूर्व-उत्तरी किनारमा अग्ला नङ्गा पहाड र नदी किनारमा बनेका टार र बेसी मिलेर बनेको रहेछ । लेखाइ र पठनपाठन तथा सरकारी कामकाजमा तिब्बतीयन र चिनीयाँ भाषा प्रयोग गरिदो रहेछ । भाषा र संस्कृतिको संरक्षण नीतिअन्तर्गत गाउँ र घरको बनोटमा तिब्बतीयन संस्कृति झल्कने गरी बनाइएको । हरेक साइनबोर्ड र सङ्केत तिब्बतीयन र चिनियाँँ मण्डारीन भाषामा लेखिएको छ । ‘यलो नदी किनारमा बस तर, तिब्बतीयन जीवनशैली अनुभव गर’ भन्ने नीति अपनाइएको रहेछ ।

तिब्बतीयन मूलका आङ्वा मसँगै ग्रीन टीको चुस्की लिएर गफ गरिरहेका छन् । एकजना तिब्बतीयन मुलकी युवती, जो उक्त गाउँको स्थानीय सरकारकी कर्मचारी हुन्, आङ्वालाई हाम्रो प्रश्न र हामीलाई आङ्वाको उत्तर उल्था गर्दै सुनाइरहेकी छन् । मेरो नेपाली प्रश्नको उल्थाचाहिँ आफूलाई राजकुमार भन्ने सान्सी विश्वविद्यालयका नेपाली विभागका प्रमुखले गरेका छन् । वार्तामा हामी चारजना सामेल छौँ । म, आङ्वा, ती युवती (नाम त बिर्सें, तिब्बतीयन नाम नै थियो, उनले शहरबाट स्नातक तहको अध्ययन गरेर फर्केपछि समुदायमा जागिर गरिरहेकी रहिछिन्) र राजकुमार । यी राजकुमारचाहिँ त्रिविवि केन्द्रीय क्याम्पसबाट नेपाली भाषामा स्नातकोत्तर गरेर गएका रहेछन् ।

आङ्वा पहिले जियान्चा काउण्टीमै पर्ने १५ किमि जति परको कुनै पहाडको टुप्पोमा बस्ने तिब्बतीयन मूलका किसान परिवारका घरमूली रहेछन् । गाउँका किसानको आयस्ताले खान लाउन नपुग्ने ! पानी पँधेरो निकै टाढा । जागिर या काम पाउन मुस्किल नै हुने भयो । जमिन उब्जाउ थिएन । विकासका पूर्वाधार पुग्न सकेका थिएनन् । कच्ची सडक र टाढाबाट ल्याउनुपर्ने कुवाको पानी । जीवन कष्टकर थियो । वार्षिक औसत तापक्रम नै जम्मा ८.३ डिग्री सेल्सियस । वस्ती बसेका ठाउँको सरदर उचाइ २९ सय मिटर । पानी कम पर्ने सुख्खा लागिरहने । त्यसमध्ये ३० वटा गाउँका २५१ किसान र भेडा तथा याक पालक गोठालाको परिवारले वार्षिक २ हजार युआनभन्दा कम आयस्तामा जीविका चलाइरहेको थियो ।

यस्तैमा सरकारले उनीहरूलाई नयाँ ठाउँमा बसाइँ सर्न र सरकारी सहयोगमा जीवन परिवर्तन गर्न अनुरोध गर्‍यो । सुरुमा त उनीहरूलाई आफ्ना पुर्खाको थातथलो छाडेर हिँड्न मन लागेन । नयाँ ठाउँमा जान र त्यसमा घुलमिल हुन पो कसरी सकिएला भन्ने लाग्यो । तर, नयाँ पुस्तालाई त्यही पहाडमा रोक्नु पनि उचित लागेन । उनीहरू अन्ततः सरकारको अनुरोधमा यता बसाँइ सर्न तयार भए । यता आएपछि नै उनका दुई छोराले शहर गएर स्नातक तहसम्म अध्ययन गरे । अरु दुई सन्तान पनि पढ्दैछन् । जोठो छोरा शहरमा नै जागिर गर्छन् । उनीहरूको जीवन सहज रूपमा चलेको छ । आङ्वा नयाँ अवस्थाप्रति खुसी देखिन्छन् । भन्छन्, “अहो ! पहाडमै बसेको भए मैले अझै कति दुःख पाउँथेँ ।”

आङ्वाको जस्तै उक्त इलाकाका विभिन्न वस्तीबाट बसाइँ सरेका २५१ परिवारको जीवनमा अहिले अजङ्गको परिवर्तन आएको छ । सरकारी तथ्याङ्कअनुसार सरदर वार्षिक औसत आय ९ हजार ८ सय युआन पुगेको छ । उनीहरूले पर्यटनलाई मुख्य आयस्रोत बनाएका छन् । यता होमस्टे चलाउने पहिलो गाउँ पनि यही हो । पर्यटकले यसलाई लिटिल सान्या नाम दिएका छन् (सान्या चीनको हाइनान टापुमा रहेको समुद्र तटीय पर्यटन क्षेत्र हो )। देजीले चीनको सबैभन्दा सुन्दर आरामदायी गाउँ भन्ने नाम पाएको छ । यसैगरी सरकारले नै यसलाई राष्ट्रिय पर्यावरणीय सांस्कृतिक गाउँ भनेर २०१९ मा नामाकरण गरेको छ ।

यस अगाडि हामीलाई नमूना देजी गाउँको कायापलटबारे बनाइएको म्युजियममा लगेर एउटा डकुमेन्ट्री र तस्वीरहरू देखाइएको थियो । अभिलेखहरू सुरक्षित गरेर राखिएको थियो । ह्वाङ्हो नदी किनारैमा रहेको उक्त म्युजियम पनि गाउँ पर्यटनको मुख्य आकर्षण बनेको रहेछ । नदी किनारमा बाहिरबाट ल्याइएको बालुवाले समुद्री तटको झल्को दिन्थ्यो । कतै निकै तल बनाइएको बाँधका कारण यलो नदीको यो किनारदेखि अर्को किनारसम्मको विस्तार बेगनास तालको जस्तो देखिन्थ्यो । किनारमा खेल्न मिल्ने पिङ, नदीको अलिकति भित्र पुगेर सेल्फी लिन मिल्ने ठाउँहरू, बोटिङ, गार्डेन, व्यवस्थित थियो । मुख्य आयस्रोतका रूपमा पर्यटनको विकास गरिएको यो गाउँ नयाँ वस्ती विकास गर्नुअघि रुखो पाखो मात्र थियो ।

नदी किनारमा लेखक

चिनियाँँ कम्युनिष्ट पार्टीको महासचिवका रूपमा सी चिनफिङ आएपछि उनले केही महत्त्वपूर्ण नीतिगत डिपार्चर गरेका थिए । सन् १९७८ मा थालिएको सुधारले चीनको आर्थिक वृद्धिदर त उल्लेख्य रूपमा माथि पुगेको थियो । बीसौं वर्षसम्म डबल डिजिट ग्रोथ गरेर उसले गरिबी निवारण र आधुनिकीकरणमा चामत्कारिक फड्को मारेको थियो । त्यससँगै केही ठाउँ र समूह विकासको यो गतिबाट निकै पछि छुटेका थिए । अहिलेको द्रुत रेलले पुराना मालवाहक रेललाई पछि छाडेको जस्तो । सिमान्त क्षेत्र र वर्गका मानिसले ठूलो मूल्य चुकाइरहेका थिए । आर्थिक असमानता ह्वात्तै बढेको थियो । यद्यपि, अघिल्लो शताब्दीको आखिरितिरै विकसित प्रान्तले पछि परेका प्रान्तको आर्थिक अवस्था उकास्न लगानी गर्नैपर्ने व्यवस्था गरिएको थियो ।

असमान विकासको यो प्रक्रियामा हस्तक्षेप गर्न सीले केही नीतिहरू अगाडि सारे । भ्रष्टाचार नियन्त्रण उनको उच्च प्राथमिकतामा थियो । यसमध्ये सरकारी अधिकारीको तडकभडकपूर्ण जीवनशैलीमा तत्काल रोक लगाए । हामी सरकारी पाहुना भएर बसेका थियौँ । हरेक दिनजसो विभिन्न तहका सरकारी अधिकारीले रात्रिभोज पनि दिने गरेका थिए । तर, त्यस्तो रात्रिभोजमा मद्यपान निषेधित थियो । उनीहरूको महत्त्वपूर्ण मध्य-शरद चाडको समय थियो । उनीहरूले आफ्ना तर्फबाट डिनरमा मद्यपान नगराएका मात्र हैनन्, हाम्रो तर्फबाट उपहारका लागि लगेका बोतल खोल्नसमेत निषेध नै गरे ।

सीको अर्को महत्त्वपूर्ण कदमचाहिँ लक्षित क्षेत्रको गरिबी निवारणसम्बन्धी नीति थियो । यसैअन्तर्गत कतिपय दूरवर्ती उच्च पहाडका मानिसलाई सहज ठाउँमा स्थानान्तरण गराएर भएपनि उनीहरूलाई गरिब रहन नदिने नीति लिइयो । जियान्चा काउन्टीको यी २५१ परिवारको स्थानान्तरण पनि यही नीतिअन्तर्गत भएको थियो ।

यो स्थानान्तरण परियोजना २०१६ मा थालियो र २०१७ मा पूरा गरियो । चिनियाँँहरू काम थाल्नुअघि सबै पक्षबाट विस्तारमा अध्ययन गर्छन्, योजना बनाउँछन्, काम बाँडफाँट गर्छन् र तोकिएको समयमा काम फत्ते गरेर नतिजा निकाल्छन् भन्ने पनि यसले पुष्टि गर्छ । गाउँ नै सार्ने योजना १ वर्षमा पूरा हुनु सामान्य कुरा अवश्य होइन ।

यस क्रममा कति सदस्य भएको परिवारले कति जमिन पाउने, घर बनाउन कति अनुदान दिइने जस्ता कुरा तय गरिए । जस्तो, कुनैपनि परिवारलाई घर बनाउन ४० हजार युआनभन्दा बढी अनुदान नदिने नीति लिइयो ।

परिवार सङ्ख्या हेरेर जमिनको इकाइ तोकियो । एकजना मात्र सदस्य भएको परिवारले २५ स्क्वायर मिटर जमिन पाउने भयो र आठजना सदस्य हुनेले १२८ स्क्वायर मिटर पाउने तय भयो । घर र टोल बनाउँदा लोक संस्कृति, ह्वाङ्हो नदी संस्कृति, कृषि संस्कृति र तिब्बतीयन संस्कृतिका मुख्य पक्षलाई समेटेर योजना बनाइयो । ‘तिब्बतीयन घरमा बस, स्थानीय स्वादिष्ट भोजन खाउ र ह्वाङ्हो (यलो) नदीको दृश्यावलोकन गर’ भन्ने नारासहित ग्रामिण पर्या-पर्यटनको अवधारणा अघि सारियो ।

देजी (खुशहाल) गाउँमा २०१९ मा नै २ लाख ८० हजार पर्यटक घुम्न पुगे । समुदायको समग्र पर्यटन आयस्ता ७४ लाख युआन पुग्यो । कुल वितरणयोग्य आय ८ लाख युआन पुग्यो जुन प्रति परिवार ३ हजार १ सय ८७ युआन हुन आउँथ्यो । यसबाहेक परिवारले पर्यटनबाट गर्ने निजी आयस्ता अलग्गै थियो ।

शिक्षा, स्वास्थ्यलगायतका सार्वजनिक सेवाहरू सहज रूपमा उपलब्ध हुने सुनिश्चित गरियो । चीनमा ११ वर्षे अनिवार्य र नि:शुल्क शिक्षाको व्यवस्था छ । गाउँमा आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार एकीकृत रूपमा उपलब्ध गराइयो ।

यसरी पूर्वाधार विकास र बासिन्दाको आर्थिक सामाजिक तथा सांस्कृतिक विकासलाई सहजीकरण गर्न गरिबी निवारणसँग सम्बन्धित विभिन्न कोष र विभागहरूलाई एकीकृत रूपमा परिचालन गरियो, जसमा जलाधार संरक्षण, यातायात, विद्युत्, शिक्षा, स्वास्थ्य, संस्कृति र पर्यटन जस्ता विभागहरू पर्थे । यी सबै विभागको गरेर यो स्थानान्तरण योजनामा सरकारले ८ करोड ३२ लाख युआन जति खर्च गरेको थियो । चीनको यो अनुभव उनीहरूका सयौं ठाउँमा सञ्चालित लक्षित गरिबी निवारण कार्यक्रमको एउटा नमूना मात्र हो ।

हामीकहाँ पनि गरिबी निवारणका नाममा दशकौंदेखि काम भइरहेको छ । दाताले सञ्चालन गर्ने, गैससले सञ्चालन गर्ने र सरकारी तहबाट सञ्चालन हुने यस्ता कार्यक्रमले लक्षित समूहलाई गरिबीबाट उकास्न खासै मद्दत गरेको पुष्टि हुने तथ्याङ्क छैनन् । युवालाई दक्ष/अदक्ष श्रमका लागि पासपोर्ट भिडाएर विदेश जान बाटो देखाउने सरकारका आम नीतिहरूको प्रभावले गरिबीको दर अवश्य घटाएको छ । तर, अहिले पनि निरपेक्ष गरिबी दर र बहुआयमिक गरिबीको दर हेर्दा हाम्रा नीतिहरूको उपलब्धि कमजोर देखिन्छ ।

कतै स्थानान्तरण गरेर होला, कतै वस्तीलाई एकीकृत गरेर हुनसक्ला तर, लक्षित समूहलाई उनीहरूको सहभागितामा गरिबीबाट मुक्त गर्न ठोस उपायहरू अपनाउन स्थानीय पालिकाहरूलाई तोकेरै जिम्मेवारी दिने र सङ्घ, प्रदेश तथा स्थानीय सरकारका स्रोतको एकीकृत परिचालन गर्ने व्यवस्थित योजना बनाउने हो भने मात्र हामीले पनि चीनको जस्तो उपलब्धि हासिल गर्न सक्छौँ ।

देजी गाउँ छाडेर निस्कँदा मेरा मनमा यस्तै कुरा खेलिरहेका थिए ।

हामीलाई चिया खुवाइएको रेष्टुराँ फराकिलो र तिब्बती शैलीको काठैकाठले बनेको थियो । त्यसका साहु हामीलाई तासी देलेक भन्दै अभिवादन गर्दै थिए । समुदायकै भवनमा उनले निजी लगानीमा यो रेष्टुराँ चलाएका रहेछन् । हामी तलामाथिबाट झरेर बाहिर निस्कँदा स्थानीय युवाहरू रक्सी पिइरहेका थिए ।

देजी सधैँ सुखी गाउँ बनिरहोस् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register